लिपुलेक सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालय प्रतिबद्ध

राष्ट्रपाटी न्युज

बैशाख २५, २०८३

काठमाडौं । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जनाएको छ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेक क्षेत्रको सीमा समस्याबारे नेपालको अडान स्पष्ट रहेको बताएका हुन्।

उनले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन हुने भनिएको कैलाश मानसरोवर यात्राबारे नेपालले यसअघि नै आफ्नो धारणा सार्वजनिक गरिसकेको उल्लेख गरे।

प्रवक्ता पौडेलले सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको विषयमा नेपाल सरकार स्पष्ट र अडिग रहेको बताए।

उनका अनुसार नेपाल सरकारले आफ्नो धारणा भारत र चीन दुवैलाई कूटनीतिक माध्यमबाट पुनः जानकारी गराइसकेको छ।

नेपाल–भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको भावना अनुरूप ऐतिहासिक सन्धि, तथ्य, नक्सा तथा प्रमाणका आधारमा सीमा समस्या समाधान गर्न नेपाल सधैँ प्रतिबद्ध रहेको उनले बताए।


Published :बैशाख २५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media