वरीयता मिचेर गरिएको निर्णयमा उपसभामुखको हस्ताक्षरप्रति हर्क साम्पाङको आपत्ति

राष्ट्रपाटी न्युज

बैशाख २५, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदलीय दलका नेता हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिस प्रक्रियामा उपसभामुखले हस्ताक्षर गरेको विषयप्रति असन्तुष्टि जनाएका छन्।

अध्यक्ष साम्पाङले शुक्रबार जारी विज्ञप्तिमार्फत सरकारले विधि र पद्धति मिचेर गरेको नियुक्तिमा आफ्नै पार्टीबाट गएकी उपसभामुख रुवीकुमारीले समेत हस्ताक्षर गरेकोप्रति आपत्ति जनाएका हुन्।

उनले चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेर सरकारले गम्भीर गल्ती गरेको दाबी गरेका छन्।

विज्ञप्तिमा एमसीसी र एसपीपीजस्ता विषयको प्रसंग उठाएर नियुक्तिसम्बन्धी बैठकमा दबाब तथा प्रभाव सिर्जना गरिएको आरोपसमेत लगाइएको छ।

“हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरीयताको क्रम उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण छ,” विज्ञप्तिमा उल्लेख छ।

साम्पाङले विधि र प्रक्रियालाई बेवास्ता गर्दै राजनीतिक प्रभावका आधारमा निर्णय गर्ने प्रवृत्तिको आफ्नो पार्टीले विरोध गर्ने बताएका छन्।

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. शर्मालाई सिफारिस गर्ने निर्णय गर्दा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले असहमति जनाएका थिए।

 


Published :बैशाख २५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media