विपक्षी दलको बैठकमा रवि पक्राउ पर्ने चर्चा

राष्ट्रपाटी न्युज

२ कार्तिक २०८१

काठमाडौं । विपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चा भएको छ ।

आज बसेको विपक्षी दलहरुको बैठकमा सरकारले सहकारी ठगी प्रकरणमा लामिछानेलाई पक्राउ गर्न सक्ने चर्चा चलेको हो । रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवहार स्वीकार्य नहुने बताए ।

यसैबीच सभापति लामिछाने पनि प्रतिपक्षी दलको बैठकपछि पार्टी कार्यालय बनस्थली पुगेका छन् । लामिछानेसहित काठमाडौँ मा उपलब्ध रहेका केन्द्रीय नेताहरु पनि बनस्थली पुगेको स्रोतले बताएको छ ।

नेताहरुसँगै कार्यकर्ता पनि अहिले पार्टी कार्यालय पुग्नेक्रम शुरु भएको छ ।

विपक्षी दलहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले लामिछानेलाई पक्राउ गर्नसक्ने बताएपछि उनी थप सशंकित बनेको बताइएको छ ।

सहकारी प्रकरणमा असोज ६ मा लामिछानेकै पुर्व साझेदार छबिलाल जोशी पक्राउ परेपछि नै सरकारले लामिछानेलाई पक्राउ गर्ने हल्ला चलिरहेको छ ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेसले लामिछानेलाई तत्काल पक्राउ गर्न दबाब बनाइरहेको बुझिएको छ ।

लामिछानेलाई पक्राउ गर्न राजनीतिक नेतृत्वकै अन्तिम निर्देशन आवश्यक रहेको भन्दै प्रहरीले पनि आफूलाई तयारी अवस्थामा राखेको बुझिएको छ ।


Published :२ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media