एमाले बैठकः पार्टीभित्रका कमीकमजोरी सच्याई एकताबद्ध भएर अघि बढ्नुपर्ने सुझाव

राष्ट्रपाटी न्युज

जेष्ठ ९, २०८३

काठमाडौं । नेकपा एमालेका सचिवालयमा रहेका नेताहरूले पार्टीभित्रका कमीकमजोरी सच्याएर एकताबद्ध ढंगले अघि बढ्नुपर्ने सुझाव दिएका छन्।

अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डु, भक्तपुरमा बसेको सचिवालय बैठकमा नेताहरूले पार्टीभित्र देखिएका समस्या समीक्षा गर्दै सुधार गर्नुपर्ने धारणा राखेका हुन्।

बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिवहरू योगेश भट्टराई, लेखराज भट्ट र रघुवीर महासेठले आफ्ना धारणा राख्नुभएकाे थियाे। साथै, पाँच जना सचिवले पनि बैठकमा आफ्नो विचार प्रस्तुत गरेको जनाइएको छ।

नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा देखिएको चुनौती सामना गर्न पार्टी एकताबद्ध हुनुपर्ने, साथै तल्लो तहका कार्यकर्तामा देखिएको निराशालाई ऊर्जामा बदल्नुपर्नेमा जोड दिएका छन् ।

उपमहासचिव लेखराज भट्टका अनुसार अधिकांश नेताहरूले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने र नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका छन् ।

महासचिव शंकर पोखरेलले पनि कार्यकर्तामा ऊर्जा भर्न र पार्टीलाई गतिशील बनाउन नेतृत्वले आवश्यक निकास दिनुपर्ने सुझाव दिएको स्रोतहरूले जनाएका छन्।

बैठकमा अब भोलि बस्ने बैठकमा उपाध्यक्ष तथा सचिवहरूले थप धारणा राख्ने कार्यक्रम रहेको छ। त्यसपछि अध्यक्ष ओलीले निर्देशनात्मक भनाइ राख्दै बैठक समापन गर्ने तयारी छ।

उपमहासचिव भट्टका अनुसार आइतबार बिहान ११ बजेपछि बैठक पुनः सुरु हुनेछ र कार्यविभाजनसहित विभिन्न निर्णयहरू गरिनेछ।

एमालेभित्र पछिल्लो समय नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै गएको छ । विशेषगरी फागुन २१ को निर्वाचन परिणाम र युवा पुस्ताको दबाबपछि पार्टीभित्र नयाँ नेतृत्वको आवश्यकता सम्बन्धी छलफल बढेको बताइन्छ ।

स्रोतका अनुसार महासचिव शंकर पोखरेलसहित सचिवालयका केही सदस्य नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन् ।   यद्यपि अध्यक्ष ओलीले भने नेतृत्व नछाड्ने अडान राखेका छन् ।

यसैबीच, पार्टीभित्रको शक्ति सन्तुलनलाई ध्यानमा राख्दै पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको पार्टी सदस्यता नवीकरणसम्बन्धी निर्णय सचिवालय बैठकबाट गराइएको विषयले पनि एमालेभित्र थप राजनीतिक चर्चा उत्पन्न गरेको छ ।


Published :जेष्ठ ९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media